

सुर्खेत । भेरी नदिमा मंगलबार एक जनाको शव फेला परेको छ । उक्त शव १६ दिनदेखि हराइरहेका डोल्पाका गुल्मपति बिमल पण्डितको हुन सक्ने आशंका गरिएको छ ।
शव डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खदाङ भन्ने ठाउँमा भेटिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिनु भयो मंगलबार बिहानै स्थानीयले शव फेला परेको जानकारी दिएका थिए ।
लगत्तै जिल्ला प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीको नेतृत्वमा टोली परिचालन गरिएको प्रजिअ पोखरेलले जानकारी दिनु भयो । डिएसपीको टोलीले भेटिएको शव सदरमुकाम ल्याउँदैछ ।
नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४:५५ बजेदेखि सम्पर्कविहीन हुनु भएको थियो । उहाँ ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ । जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उहाँले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएर जानु भएको थियो ।
गाडीबाट ओर्लिएर एउटा पसलबाट चप्पल, झोला लिएर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिनु भयो ।
उहाँको मोबाइलको अन्तिम लोकेशन त्रिपुराकोटमै देखिएको थियो । ‘उहाँको मोबाइल ७:१५ बजेसम्म एक्टिभ देखिएको थियो । त्यसपछि सम्पर्कविहीन भएको थियो,’ जिल्ला प्रहरी प्रमुख बुढाथोकीले भन्नु भयो ।

खबर बजार । २६ भाद्र २०८०, मंगलवार १७:३६