प्रधानमन्त्री कप महिला क्रिकेट: लुम्बिनीको विजयी शुरुवात

काठमाण्डौ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेको छ ।

आज बिहीवार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले हरायो । गण्डकीले दिएको १ सय ३ रनको लक्ष्य लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर भेटायो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ४२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सृष्टि जैसीले २ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनायो । गण्डकीका लागि सुमन खतिवडाले १८ बलमा नट आउट ३३ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी मधु डीसी, सरस्वती पुन र कमला जीएमले समान १/१ विकेट लिइन् ।