

सुर्खेत । स्वदेशमै गरिखाने वातावरण सिर्जना गर्न युवाहरुले माग गरेका छन् ।
विश्व आप्रवासी दिवसको अवसरमा आज वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उनिहरुले यस्तो माग गरेका हुन् ।
सिप हुँदा हुँदै पनि आफुहरु विदेश जानुपर्ने बाध्यता रहेको भन्दै उनिहरुले स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न माग गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का मान कुमारी विकले आफु रोजगारीका लागि भारतमा जानुपर्ने बाध्यता रहेको दुखेसो गर्नुभयो ।
उहाले होटेलको कुक सम्बन्धीको काम जानेको भएपनि आफुलाई स्वदेशमै काम गर्ने वातावरण नमिलेको भन्दै सरकारले चासो दिनुपर्ने माग गर्नुभयो । “मैले होटेलको कुकको काम पनि जानेको छु, केही बर्ष आफ्नै होटेल पनि गरेँ । तर लगानी नभएपछि फेरी भारतमै जानुपरेको छ, दुखेसो पोख्दै उहाले भन्नुभयो ।”
वडा नम्बर ३ कै धना नेपालीको श्रीमान काम गर्न नसक्ने अवस्थामा बिरामी हुनुहुन्छ । घरपरिवारको जिम्मेवारी आफुलाई भएको भन्दै नेपालीले स्वदेशमा काम केही नपाउँदा चार जना बालबालिका पालनपोषणको लागि पनि भारतमा जानुपरेको दुखेसो गर्नुभयो ।
म एक बर्ष भारतमा काम गरेर आएँ, कमाएको पैसा पनि एकजनाले ठगेर भाग्यो । उहाले दुखेसो पोख्दै भन्नुभयो, “श्रीमान नसक्ने अवस्थामा बिरामी हुनुहुन्छ । चारजना छोराछोरी छन्, तिनको लालनपालन गर्नुपर्ने मेरै काँधमा छ, सिलाइकटाईको काम जानेको छु, काम पाइँन अनि भारतमा गएर लेब्बरी नगरेर के गर्ने ?”
विदेशबाट फर्किएका सहभागीहरुले आफुहरु विदेशमा काम गरेर पनि ठगिने गरेको बताएका छन् ।
यसैबिच, सरोकारवालाहरुले वैदेशिक रोजगारीमा पुरुषभन्दा महिलाहरु असुरक्षित रहेको भन्दै सरकारले यतातर्फ ध्यान दिन सुझाव दिएका छन् ।
उनिहरुले स्वदेशमै गरिखाने वातावरण निर्माणको लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउँदै वैदेशिक रोजगारीमा जानेहरुले पनि जानेर बुझेर जानुपर्ने सुझाव दिएका छन् ।
आवाज संस्था सुर्खेतका निशा पौडेलले पछिल्लो समय रोजगारीका लागि विदेशिएकाहरुमध्य पूरुषहरुभन्दा महिलाहरु ठगिने, बलात्कृत हुने लगायतका घटनामा पर्ने गरेको उल्लेख गर्नुभयो ।
पछिल्लो समय वैदेशिक रोजगारीकै कारण अपराधिक घटनाहरु पनि हुन थालेको प्रहरीले जनाएको छ ।
यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक प्रेम प्रसाद शर्माका अनुसार गत बर्षदेखि हालसम्म १२ जनाको हत्या भएको छ । ति घटनाहरु वैदेशिक रोजगारीसँग सम्बन्धित रहेको उहाको भनाई छ ।
त्यसैगरी वैदेशिक रोजगारीमा गएका व्यक्तीले एकजना बालिकालाई फेक फेसबुक आइडीको प्रयोग गरी बलात्कार गरेको उहाले बताउनुभयो । अपराधमा संगलग्नलाई कारवाही गरिएको उहाको भनाई छ ।
कर्णालीबाट कती रोजगारीमा जान्छन भन्ने एकिन तथ्याङ्क पनि छैन् । बैधानिक बाटोभन्दा अबैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जानेहरु बढेका छन् ।
यता, स्थानीय सरकारहरुले भने स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नको लागि पूर्वाधारभन्दा सिप र उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दीपेन्द्रराज कोइरालाले सिप र उत्पादनमा जोड दिनेगरी आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाले अब तिनै तहका सरकारहरुले यस विषयलाई प्रमुख मुद्धा बनाएर जानुपर्ने बताउँदै जनशक्तीलाई स्वदेशमै रोक्न सक्ने वातावरण नबनाए देश समृद्ध समेत हुन नसक्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराम शर्माले पनि उत्पादनमुखि सोच र योजना बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम तारानगिनी फाउण्डेसनको अयोजनामा सम्पन्न भएको हो ।

खबर बजार । ७ पुष २०८०, शनिबार १७:३२