

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ ।
आज बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्नु उचित नहुने बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकाङ्क्षा नराख्न पनि अनुरोध गर्नुभयो । महामन्त्री शर्माले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाऔँ भनेको हो । देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनै पनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकाङ्क्षातर्फ जानु, उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु । त्यस कारण पूर्वप्रधानमन्त्रीहरूसमेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’
महामन्त्री शर्माले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने जिकिर पनि गर्नुभयो । संसद्को दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसद्को पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उहाँको भनाइ थियो ।

खबर बजार । १० फाल्गुन २०७९, बुधबार १८:०४