३४ औँ राष्ट्रिय पुरुष भलिबल: पहिलो सेमीफाइनलमा एपीएफ र गण्डकी तथा दोस्रोमा आर्मी र पुलिसबीच खेल हुने

काठमाण्डौ । सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

आज भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । गण्डकीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२१ ले जित्यो । गण्डकी समूह ’बी’ को उपविजेता बन्यो ।

यसअघि आजै भएको खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ । पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले जित्यो । पुलिस समूह ’ए’ को उपविजेता बन्यो ।

एपीएफ र आर्मी यसअघि नै सेमीफाइनलमा पुगिसकेका थिए । एफीएफ समूह ’ए’ र आर्मी समूह ’बी’ को विजेता बनेको थियो । प्रतियोगितामा यी २ टोली अपराजित हुन् ।

अब भोलि हुने पहिलो सेमीफाइनलमा एपीएफ र गण्डकी तथा दोस्रो सेमीफाइनलमा आर्मी र पुलिसबीच खेल हुनेछ । नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पर्सि हुनेछ ।