यातायात व्यवसायीबिच झडप, संयुक्त यातायातले दादागिरी गरेको भिजिट कर्णालीको आरोप

सुर्खेत । संयुक्त यातायात व्यवसायीका केही व्यक्तीहरुले आफुहरुमाथी खुकुरी, ढुङ्गा मुढा प्रहार गरेको आरोप भिजिट कर्णालीले लगाएको छ ।
‘भिजिट कर्णाली’ प्रालिले आज बिहान भएको घटनाको विषयमा पत्रकार सम्मेलन गरी संयुक्त याताया प्रालिले दादागिरी चलाएको आरोप लगाएको हो ।
भिजिट प्रालिका अध्यक्ष प्रकाशकुमार शाहीले आफ्ने कर्मचारीहरुमाथि खुकुरी, ढुङ्गा, मुढा प्रहार गरिनुका साथै टिकट बुकिङ काउन्टर समेत तोडफोड गरिएको बताउनुभयो ।
आफ्ना दुई जना कर्मचारीहरू समेत घाइते भएको बताउँदै उहाले उक्त घटनामा प्रशासनले समेत सहयोग नगरेको आरोप लगाउनुभयो ।
भिजिट कर्णालीले पुस २६ गतेबाट बुलबुले चोकमा काउन्टर राखी स्कार्पियो सेवा सञ्चालनमा ल्याएको छ । तर, संयुक्त यातायात प्रालिका मान्छेहरूले बसपार्क भन्दा बाहिर काउन्टर राखेर यातायात सञ्चालनमा आएको र बसपार्कबाट नै टिकट काट्ने काम हुनुपर्ने भन्दै विवाद भएको थियो ।
अध्यक्ष शाहीले स्वतन्त्रतापूर्वक आफ्नो पेसा व्यवसाय गर्न पाउने मौलिक हकको बर्खिलाप हुने गरी दर्जनौँ केटाहरू आई टिकट काउन्टर तोडफोड गरिएको बताउनुभयो ।

आफ्ना कर्मचारीमाथि धारिलो हतियार प्रयोग गरी चोट लागेको तर, प्रहरीले ती व्यक्तिहरूमाथि कारबाही नगरेको उहाँको गुनासो छ ।
संयुक्त यातायातका व्यक्तिहरूका कारण गाडी सञ्चालनमा अवरोध भएको र टिकट काटी गन्तव्यमा जान लागेका यात्रुहरू बिचल्लीमा परेको उहाँको भनाई छ ।

उहाँले आफुहरुले कानुनी अधिकार प्राप्त गरेर आफ्नो व्यवसाय संचालन गर्दा पनि अवरोध भएको भन्दै आफुहरुले सहज रुपमा यातायात संचालन गर्न नपाए कानुनी लडाईमा जाने उल्लेख गर्नुभयो ।
आज बिहान भिजिट कर्णाली यातायातका व्यवसायीहरूमाथि संयुक्त यातायातका व्यक्तिहरूले हातपात गरेका थिए ।

झडपमा दुइजना व्यक्ती घाइते भएका थिए । उनिहरुको उपचार चलिरहेको प्रहरीले जनाएको छ ।