साताको पहिलो दिन आज शेयर बजारमा गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारको परिसूचक नेप्से २१३० अंकमा झरेको छ । हिजोको तुलनामा नेप्से २५.६३ अंक घटेको हो । कुल ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ ।

आज बैंकहरुको कमजोर वित्तीय विवरणको प्रभाव बजारमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको नाफा खस्किएको छ भने कतिपयको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । त्यस्तै निष्क्रिय कर्जा पनि धेरैको बढेको छ । वाणिज्य बैंकहरुको पूँजीकरण उच्च रहेकाले यसको प्रभाव बजारमा बढी पर्दछ ।

वाणिज्य बैंक २.४, विकास बैंक २.६, फाइनान्स २.५, होटल तथा पर्यटन १.६, लगानी १.९, उत्पादन १.२, जीवन बीमा ०.७३, माइक्रोफाइनान्स १.४, निर्जीवन बीमा ०.८ र ब्यापार समूह १.१ प्रतिशतले घट्यो । भने, हाइड्रोपावर समूह ०.२ प्रतिशत र अन्य समूह १.३ प्रतिशतले बढ्यो ।

६४ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ६ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी अगाडि रह्यो । सो कम्पनीको मात्रै ५६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मूल्य ४.४४ प्रतिशत बढेर प्रतिकित्ता ६८२ रुपैयाँ पुगेको छ ।