वन डढेलोका घटना बढ्दै, वायु प्रदुषण र तापक्रम वृद्धिले कष्टकर बन्दै जनजीवन 

काठमाडौं । वन डढेलोका घटना बढ्न थालेपछि देशभर वायु प्रदूषण वृद्धि हुन थालेको छ । वन डढेलोबाट निस्कने धुवाँ र वायुमण्डलमा जमेको धुलोको कणले वायु गुणस्तरलाई समेत खराब बनाउन थालेको हो ।

केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था बढेकाले डढेलो र प्रदूषण दुवैमा वृद्धि देखिएको सम्बन्धित निकायको तथ्याङ्कले देखाएको छ ।

विशेषगरी सुक्खा मौसम र उच्च तापक्रमका कारण सानो झिल्काले समेत आगलागी निम्त्याउने जोखिम बढेको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।

वन डढेलोको उच्च जोखिम रहने चैत महिनामा चालु वर्ष भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमी देखिएको थियो ।

प्रि–मनसुन अवधिमा औसतभन्दा बढी वर्षा भएकाले सुक्खापन कम हुँदा डढेलोका घटनामा गिरावट आएको थियो । तर पछिल्ला दिनहरूमा वर्षा अभावसँगै पुनः सुक्खा बढ्न थालेकाले डढेलोको जोखिम पुनः बढ्ने सङ्केत देखिएको विज्ञहरूले बताएका छन् ।

वन तथा भूसंरक्षण विभागकाअनुसार चैत महिनामा आर्थिक वर्ष २०७८ मा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो सङ्ख्या २०७९ मा घटेर २६७ मा झरे पनि २०८० मा २४९ र २०८१ मा पुनः बढेर ३३१ पुगेको थियो । चालु आर्थिक वर्ष २०८२ मा भने ७९ वटामात्रै घटना दर्ता भए, जसलाई विज्ञहरूले मौसमीय अवस्थासँग जोडेर हेरेका छन् ।

प्रिमनसुन अवधिमा भएको राम्रो वर्षाका कारण अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा उल्लेखनीय गिरावट आएको थियो ।

वन तथा भूसंरक्षण विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखको पहिलो सातादेखि नै देशभर डढेलोका घटना पुनः बढ्दो क्रममा देखिएका छन् ।

विभागको तथ्याङ्कले वैशाख ६ देखि ९ गतेसम्मको दैनिक विवरण सार्वजनिक गर्दै चार दिनमै १०२ वटा डढेलोका घटना दर्ता भएको जनाएको छ ।

विभागका अनुसार सबैभन्दा बढी डढेलो घटना दाङमा १७ वटा दर्ता भएका छन् । त्यसपछि कपिलवस्तुमा १४, नवलपुरमा नौवटा डढेलोको घटना भएका छन् । सल्यान, सुर्खेत तथा कैलालीलगायतका जिल्लामा पनि उल्लेख्य सङ्ख्यामा डढेलोका घटना देखिएका छन् ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले पछिल्ला दिनमा डढेलोका घटना फेरि बढ्न थालेको बताउनुभयो ।

महानिर्देशक प्रधानले बढ्दो तापक्रम, सुक्खा मौसम र मानवीय असावधानीलाई डढेलोका मुख्य कारणका रूपमा औँल्याउँदै सचेतना र पूर्वतयारी बढाउन आवश्यक रहेको बताउनुभयो ।

विभागकै वन अधिकृत विजय ढकालले डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए) का अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका लागि प्रभावकारी वन व्यवस्थापन अपरिहार्य रहेको बताउनुभएको छ ।