काठमाडौं । सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आज प्रस्ताव दर्ता गराएका हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दार्ता गरेको बताउनुभयो ।
राणाविरुद्ध नेपाल बारले आजदेखि पुनः आन्दोलन सुरू गरेकै दिन प्रधानन्यायाधीशमाथि २१ बुँदे आरोप लगाउँदै सत्ता गठबन्धनले प्रस्ताव दर्ता गराएको हो ।
प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता हुनेबित्तिकै पदबाट निलम्बित हुने प्रावधान छ । तर प्रस्तावलाई संसदमा दुईतिहाइले स्वीकृत वा अस्वीकृत गर्नुपर्छ ।
यसैबीच, प्रमुख प्रतिपक्षी एवं सबैभन्दा ठूलो दल नेकपा एमालेले भने प्रतिपक्षीलाई थाहै नदिई गलत नियतबाट महाअभियोग प्रस्ताव दर्ता भएको बताएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको र यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको बताउनुभयो ।
उहाँले गरेको ट्वीटमा स्थानीय निर्वाचन नगराउने षड्यन्त्र सुरु र प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको उल्लेख छ ।
खबर बजार । १ फाल्गुन २०७८, आईतवार १२:४१