काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनुभएका कमल थापा ‘राप्रपा नेपाल’मा फिर्ता हुनुभएको छ ।
‘पूर्वपञ्च’का घटकहरू एकता गरि राष्ट्रिय प्रजातन्त्र पार्टी बनाउँदा त्यागेको ‘राप्रपा नेपाल’ मा थापा पुन: अध्यक्षको रुपमै फिर्ता हुनुभएको हो ।
केहिदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनुभएका थापा निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा फिर्ता हुनुभएको छ ।
राप्रपाबाट निस्केर थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा पार्टी दर्ता गर्ने तयारी गरेकोमा त्यो बाटो छोडेर अब उहाँले पुरानै राप्रपा नेपाल ब्यूँताउने हुनुभएको हो ।
राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो । वि. सं. २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो ।
त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीका अध्यक्ष लाक्पा शेर्पा हुनुहुन्थ्यो । शेर्पाले पार्टीको नेतृत्व त्याग्दै कमल थापालाई अध्यक्षमा चयन गरेको जानकारी गराउनुभएको थापानिकट नेता राजाराम बर्तौलाले बताउनुभयो ।
खबर बजार । १ फाल्गुन २०७८, आईतवार १७:०४