

धनगढी । नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् ।
आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
बैठकमा नाउपाका प्रदेशसभा सदस्यहरु कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । बैठकमा सहभागी भएका नाउपा सांसदहरु अहिले सरकारमा नै सहभागी छन् ।
बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको दाबी सांसदहरुले गरेका छन् । केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश खोजिएको उनीहरुले बताएका छन् ।
नाउपाले मुख्यमन्त्रीलाई समर्थन कायमै राखेपनि उनीसँग कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना मात्र पुग्छन् ।
राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशीले समर्थन गरे मात्र शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन् ।
संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा पर्नु भएको छ ।
नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउने प्रयास अन्तरगत उक्त पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाउनु भएको थियो ।
नाउपामा सरकार विस्तारको विषयलाई लिएर संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद भएको छ ।

खबर बजार । ४ चैत्र २०८०, आईतवार १७:५९