

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने र संघिय संसद अवरोध हटाउनेबारे छलफल गर्न बसेको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको छ ।
नेकपा (एमाले) सहभागि नबनेको बैठकमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले एमसीसी जसरी पनि पारित गर्नुपर्ने धारणा राखे पनि अरु दलहरुको कुरो बाझिएको हो ।
आइतबारको सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आफ्नो आफ्नो धारणा राखेको र यस विषयमा फेरि छलफल गरिने सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखे भने नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) ले संशोधन गरी पारित गर्नुपर्ने धारणा राखेका एक नेताले बताए ।
सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।

खबर बजार । ४ पुष २०७८, आईतवार १२:५४