नीति तथा कार्यक्रमः शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने, आफ्नै भू–उपग्रह स्थापना गर्ने

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकतामा राखिएको छ । यस्तै रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा जोड दिइएको छ ।

यसैगरी बैंक वित्तीय संस्था र सहकारीका समस्या समाधान, कृषिमा लगानी दशक घोषणा, पाँच लाख भूमिहीनलाई जग्गा, एक हजार जना युवालाई ’स्टार्टअप’ व्यवसाय गर्न सहुलियत कर्जा, नेपालको आफ्नै भू–उपग्रह स्थापना, ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लगायत नीति तथा कार्यक्रममा समावेश छ ।

यस्तै सरकारले शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने भएको छ । आउँदो दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजार जनालाई रोजगारी दिने घोषणा पनि सरकारले गरेको छ ।Policy Program 2081-082