काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि बिहिवार आजदेखि दल दर्ता खुला भएको छ ।
आयोगले सूचना प्रकाशन गरी आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिने जनाएको हो । दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्नेछ ।
आयोगमा हाल करिब ११९ दल दर्ता कायम छ । विसं २०७४ को निर्वाचनमा भाग लिएका दलमध्ये स्थानीय तहमा तत्कालीन १८ वटा दलको प्रतिनिधित्व थियो ।
दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ ।
यसैगरी विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता सर्तसहितका काजजातसमेत दर्ताका अवसरमा पेस गर्नुपर्ने छ ।
आयोगकाअनुसार राजनीतिक दलको विधानमा दलको नाम, झण्डा, छाप, चिह्न, कार्यालयको ठेगाना, सङ्गठनात्मक संरचना, सदस्यता प्राप्त र गुम्ने अवस्था, केन्द्रीय, प्रदेश र स्थानीय तहको विवरण,महाधिवेशनसम्बन्धी व्यवस्था, बैठक बोलाउने र निर्णय गर्ने कार्यविधिलगायतको व्यवस्था उल्लेख हुनुपर्ने व्यवस्था छ ।
दलको कोष, आर्थिक व्यवस्थापन र त्यसका जिम्मेवार पदाधिकारी, उम्मेदवार मनोनयन कार्यविधि, अनुशासन कारबाही र पुनरावेदन सुन्ने संयन्त्र, लेखा परीक्षण, नीति तथा कार्यक्रम निर्माणमा सदस्य तथा तल्ला निकायको सहभागिता, विधान संशोधन, विघटन, नियमावली बनाउने अधिकार, सदस्यता र नवीकरण शुल्कलगायत विषय विधानमै उल्लेख हुनुपर्नेछ ।
खबर बजार । ५ फाल्गुन २०७८, बिहीबार ०७:०४