निवर्तमान साँसद् ठम्मर विष्ट थुप्रै कार्यकर्ताको टिमसहित एमालेमा समाहित हुँदै

सुर्खेत । नेकपा (माओवादी केन्द्र) परित्याग गर्नुभएका निवर्तमान सांसद ठम्मर बिष्ट थुप्रै कार्यकर्ताहरुको टिमसहित नेकपा (एमाले) मा समाहित हुने पक्का भएको छ ।

फाइल तस्बिर

विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुग्ने निश्चित भएको एमालेले जनाएको छ । वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आइतबार आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिष्टलाई पार्टीमा समाहित गराउने निश्चित भएको एमालेले जनाएको छ ।

बिष्टसंगै माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरे लगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेश सभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिसामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गरिनुलगायतको कारण आफूले पार्टी छोडेको विष्टले बताउने गर्नुभएको छ ।

यसैगरी, पार्टीले पार्टी संरचना तथा सरकारमा नैतिक पतन व्यक्तिहरुलाई जिम्मेवारी दिइएको लगायतका कारण सरकार छोडेको उहाँको भनाई छ ।

खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश सभा संसदीय दलमा जानकारी नै नगराई यसअघि मुर्ति चोरीको अभियोग प्रमाणित भइसकेका कार्चेन लामालाई गैर–सांसद मन्त्री बनाएपछि उहाँ रुष्ट हुनुहुन्थ्यो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदा बिष्ट पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीको पक्षमा लाग्नुभएको थियो । तर अदालतले पार्टी छुट्टाछुट्टै गराइदिएसँगै माओवादी केन्द्रमा फर्किनुभएको थियो ।