रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन र सक्कल मिसिल माग

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन र सक्कल मिसिल माग गर्ने आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बुधबार न्ययायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउन आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराउनु भएको थियो ।

त्यही निवेदनको आधारमा आज भएको बहसपछि न्यायाधीश विष्टको एकल इजलासले जिल्ला अदालत रुपन्देहीको सक्कल मिसिल र कैफियत प्रतिवेदन मगाउने आदेश गरेको उच्च अदालत बुटवलले जनाएको छ ।

यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिनु भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उहाँको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ ।

लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेश गर्नु भएको थियो । रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत समेत पेश गर्नु भएको थियो ।