नेकपा (एस) ले स्थायी कमिटी बैठकमा एमसीसी र गठबन्धनबारे छलफल गर्ने

काठमाडाैं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) र गठबन्धनबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) ले स्थायी समिति बैठक बोलाएको छ ।

एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयले सत्ता गठबन्धनमा खटपट हुन थालेपछि एसले स्थायी कमिटीको बैठक बोलाएको हो ।

आज बिहान ११ बजे अर्याल होटेलमा बस्न लागेको स्थायी कमिटिको बैठकले एमसीसी र गठबन्धनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

अहिले सम्म नेतृत्व तहले एमसीसी संशोधनबिना पारित हुन नसक्ने अडान राख्दै आइरहेकाे छ ।

अडानले सत्ता गठबन्धन भित्रै विवाद हुन थालेपछि उपयुक्त बाटोका लागि स्थायी कमिटिको बैठक आयोजना गरिएको एसले जनाएको छ ।

भोलि नै पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने एसका एक जना नेताले जानकारी दिए ।

बिहीबार नै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेको थियो । यथास्थितिमा एमसीसी टेबल गरे माओवादीले सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको छ । तर एकीकृत समाजवादीले भने अहिले सम्म ठोस निर्णय गरेको छैन ।

केही समय अघि सम्म एमसीसी विरुद्ध खरो रूपमा उत्रिएको एकीकृत समाजवादी पनि गठबन्धन नै भत्किने अवस्था सृजना भएपछि मध्यमार्गी बाटो खोजिरहेको छ ।