एमसीसीमा सहमतिको अन्तिम प्रयास गर्न संसद बैठकअघि सत्तागठबन्धनको छलफल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) मा सहमति जुटाउने प्रयासस्वरुप प्रतिनिधि सभा बैठकअघि आज सत्तागठबन्धनको ‘निर्णायक बैठक’ बस्ने भएको छ ।

गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ भने सत्तागठबन्धनको बैठक १० बजे बोलाइएको छ ।

यसअघि शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा (एस)ले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।

एसको शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ ।

सत्ताघटक नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । तर पछिल्लो समय माओवादी केन्द्र पनि एमसीसीको पक्षमा लचिलो भएको बुझिएको छ ।