
काठमाडौँ । पाकिस्तानको पृथकतावादी समूह बालोचिस्तान गणतन्त्रका एक नेता मिर यार बालोचले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
उहाँको शुभकामना सन्देशमा शाहको नेतृत्वलाई नेपालको लागि ‘आशाजनक अध्याय’ का रूपमा चित्रण गरिएको छ ।
‘बलोच समुदाय नेपाल’ का तर्फबाट बालोचिस्तान गणतन्त्र नेपालका नयाँ मन्त्रिपरिषद् तथा सम्मानित प्रधानमन्त्रीको पद ग्रहण गर्नुभएका बालेन्द्र शाहलाई हार्दिक बधाई व्यक्त गर्दछ,’ सन्देशमा भनिएको छ, ‘तपाईंको नेतृत्वले तपाईंको राष्ट्रका लागि एक आशाजनक अध्यायको सुरुवात गरेको छ र हामी विश्वस्त छौँ कि तपाईंको दृष्टिकोण, ऊर्जा र समर्पणले नेपाललाई अझ बढी प्रगति र समृद्धितर्फ मार्गदर्शन गर्नेछ ।’
आपसी सम्मान, सहकार्य तथा शान्ति र विकासका साझा आकांक्षामा आधारित ‘दुई राष्ट्र’ बीच मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बनाउने र सुदृढ कूटनीतिक सम्बन्ध स्थापना गर्ने अपेक्षा उहाँले व्यक्त गरेका छन् ।
‘यो नयाँ यात्राले तपाईंको नेतृत्वलाई सफलता प्रदान गरोस् र हाम्रा जनताबीचको सम्बन्ध अझ मजबुत बनाओस्,’ उहाँको ट्विटमा भनिएको छ ।
निर्वासित तिब्बत सरकारपछि यस्तै पृथकतावावादी संगठनबाट बालेनलाई अर्को बधाई आएको हो ।
बलोचिस्तान एउटा ठूलो ऐतिहासिक क्षेत्र हो जुन दक्षिण–पश्चिम एशियामा पर्छ । यो क्षेत्र मुख्य रूपमा सुक्खा, पहाडी र मरुभूमि जस्तो छ, जसमा ठूला–ठूला पहाडहरू, मैदान र अरब सागरको तट पनि समावेश छ ।




खबर बजार । १५ चैत्र २०८२, आईतवार १९:४७