
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाउनुभएको छ । २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भट्टले आज प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको हो ।

मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन् । उहाँका पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन् ।
नेकपाका तर्फबाट साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ र साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले विश्वासको मत दिएका हुन् ।
विपक्षमा काङ्ग्रेसका १४ र राप्रपा को १ मत विपक्षमा परेको थियो । काङ्ग्रेसकै पदम शाही, मान बहादुर रावल मधु भारती उपस्थित भएनन् ।
५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजिनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिनुभएको थियोे ।
कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद रिक्त भएको छ । कैलालीबाट निर्वाचित अर्का सांसद दीर्घ सोडारी निलम्बित हुनुहुन्छ ।




खबर बजार । ३ भाद्र २०८३, बुधबार १७:४३