प्रचण्डको सचिवालयले भन्यो- ‘एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बचियो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको बताएको छ ।

फाइल तस्बिर

प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बचिएको दाबी गर्नुभएको छ ।

पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उहाँले फेसबुकमा लेख्नुभएको छ– ‘एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न सकिँदैन। एकपटक सोचौं हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौं ।’

धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान गरिएको उहाँको भनाइ छ । ‘धेरै विचार र विवेक पुर्याएर यो निर्णयमा पुगिएको हो । संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं’ उहाँले भन्नुभएको छ, ‘नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं ।’

उहाँले विकसित घटनाक्रमबारे अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने पनि बताउनुभएको छ ।