माओवादीमा थपिए ९७ केन्द्रीय सदस्य, प्रचण्डको रोजाइमा छोरी-ज्वाइँ, पीएदेखि विडारीसम्म

काठमाण्डौँ । राष्ट्रिय सम्मेलन (महाधिवेशन) सकिएको तीन महिनापछि नेकपा (माओवादी केन्द्र) ले ९७ जना नयाँ केन्द्रीय सदस्य थपेको छ । केही जिल्ला र प्रदेशबाट सिफारिस कलस्टरसहित समेटेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९७ जना केन्द्रीय सदस्य थप गर्नुभएको हो ।

शुक्रबारदेखि जारी केन्द्रीय समितिले अध्यक्ष दाहालले थपेका ९७ जनाको नाम पारित गरेको छ । अध्यक्ष दाहालले खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम पेस गर्नुभएको छ ।

यससँगै माओवादी केन्द्रीय समिति अब ३ सय ४३ सदस्यीय बनेको छ। यसअघि पुसमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो ।

प्रस्तुत नाममा अध्यक्ष दाहालका छोरी, ज्वाइँ, स्वकीय सचिव (पीए)देखि राष्ट्रियसभा सदस्यको कार्यकाल पूरा गरी हालै बाहिरिनुभएका रामनारायण विडारीसम्म छन् ।

खसआर्य महिलाअन्तर्गत बागमतीबाट छोरी गंगा दाहाल केन्द्रीय समितिमा समेटिनुभएको छ । खसआर्य युवाअन्तर्गत प्रदेश १ बाट ज्वाइँ जीवन आचार्य चुनिनुभएको छ ।

यसअघि प्रचण्डले जेठी छोरी चितवन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई केन्द्रीय सदस्य बनाइसक्नुभएको छ भने केही नेताहरुको दम्पती नै केन्द्रीय समितिमा अटाएका छन् ।

त्यसैगरी आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले बुहारी बिना मगर र भाई नारायण दाहाललाई पनि केन्द्रीय सदस्य बनाउनुभएको छ ।

यसपालि प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई खसआर्य युवातर्फ गण्डकीबाट सूचीमा राखिएको छ। वाईसीएल अध्यक्ष सुमन देवकोटा, माओवादी उपत्यका विशेष प्रदेश सचिव एवं राष्ट्रिय युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत पर्नुभएको छ ।

खस आर्य पुरुषबाट रामनारायण विडारी पर्नुभएको छ । जनजाति पुरुषतर्फ अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जीत तामाङ केन्द्रीय समितिमा समेटिनुभएको छ ।

तर माओवादी केन्द्रले स्थायी समिति र पोलिटब्यूरो तथा पदाधिकारी भने चयन गर्न सकेको छैन । नेता वर्षमान पुनकाअनुसार स्थायी समिति र पोलिटब्यूरो तथा पदाधिकारी निर्वाचनपछि टुंगो लाग्ने बताउनुभयो ।

अहिले पार्टीभित्र देखिएका अन्तरविरोधलाई एकठाउँमा राखेर तलदेखि माथिसम्म सिंगो केन्द्रीय समितिलाई कार्यविभाजन गरेर चुनावी अभियानमा लैजाने निष्कर्ष पनि केन्द्रीय समितिले निकालेको छ ।