

सुर्खेत । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार अध्यक्ष पदका लागि नौ जनाले निर्वाचन प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराउँदा केही विद्यार्थीले स्वतन्त्र उम्मेदवारीसमेत दर्ता गराएका छन् ।
स्ववियु अध्यक्षका लागि नेविसंघका रोशन बस्नेत, अनेरास्वियुका प्रकाश भुसाल, एकीकृत समाजवादीनिकट अनेरास्ववियुका मिलन बीसी र अखिल क्रान्तिकारीकी ममता अधिकारीले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
यस्तै, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठनका योगेशकुमार शाहीले उम्मेदवारी दर्ता गराउँदा महेन्द्रकुमार थापा, पारस सिंह, भूपेन्द्र बम र महेश धितालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै, सचिवमा पनि नौ जनाबीच नै प्रतिस्पर्धा हुँदा चार जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै, कोषाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराउँदा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ३० जनाले सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको नामावलीविरुद्ध फागुन २४ गतेभित्र दाबी विरोध पेस गर्ने मिति तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली २५ गते प्रकाशन हुनेछ ।
मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ को नियम १६८ अनुसार हुन लागेको स्ववियु निर्वाचनमा ४ हजार ८ सय २९ जना विद्यार्थीले मतदान गर्नेछन् ।
स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

खबर बजार । २२ फाल्गुन २०७९, सोमबार १९:४७