सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
मतदान सामग्री, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थालगायतका तयारी पूरा गरिएको हो । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको सुरक्षा प्रबन्ध मजबुत बनाइएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
कर्णालीका ७९ वटै स्थानीय तहमा रहेका मतदान केन्द्र र स्थलको अनुगमन गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रशासन कार्यालयहरूले जनाएका हुन् । दुई सय ९१ मतदान केन्द्र रहेको सुुर्खेतमा निर्वाचन सुुरक्षालगायतका सबैजसो तयारी पूरा भएको प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
कर्णाली प्रदेशको राजधानीसमेत भएकाले पनि यहाँ अन्य जिल्लाभन्दा राजनीतिक गतिविधि बढी हुुन्छन् । सुर्खेतका केही स्थानमा निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच छिटफुट झडपका घटना भएका छन् । त्यसबाहेक जिल्लाको शान्ति सुुरक्षाको अवस्था सामान्य रहेको भन्दै प्रजिअ रिजालले निर्वाचन अवधिभर कुनै अवाञ्छनीय गतिविधि हुन नदिन विशेष सुरक्षा रणनीति बनाइएको बताउनुभयो ।
सुर्खेतमा तोकिएका मतदान केन्द्रमध्ये २० वटा भने सुरक्षाको दृष्टिकोणले अति संवेदनशील रहेको उहाँको भनाई छ । सुरक्षासँगै सडकको पहुँच, भौगोलिक अवस्था, टेलिफोन तथा इन्टरनेटको सेवा र राजनीतिक दलको तिक्ततालगायतका कारण ती केन्द्रलाई अति संवेदनशीलमा राखिएको हो ।
त्यस्तै, सुर्खेतमा ८५ वटा संवेदनशील र ३३ वटा सामान्य गरी एक सय ३८ वटा मतदान स्थल रहेका छन् । बढी नै संवेदनशील मानिएका स्थलमा सुुरक्षाकर्मी बढाएर परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि प्रहरीसहित जिल्लामा एक हजार दुुई सय ६९ म्यादी प्रहरी परिचालन गरिएको छ । प्रशासन कार्यालयका अनुसार प्रदेशको राजधानी भएकाले पनि यहाँको सीमा सुुरक्षामा पनि उत्तिकै ख्याल गरिएको छ । आवतजावतमा निगरानी बढाउने, लागुुऔषध नियन्त्रण गर्ने र सीमामा हुुनसक्ने अपराधिक गतिविधि रोक्ने सुरक्षा योजना बनाइएको हो ।
खबर बजार । २७ बैशाख २०७९, मंगलवार ०७:३०