

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।
जिल्ला अधिवेशनबाट १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने छ ।
अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक जना, उपसचिव दुई जना र बाँकी सदस्य चयन हुने छ ।
एमाले स्रोतका अनुसार बन्दसत्र पश्चात निर्वाचन समिति र निर्वाचन कार्यतालिका सार्वजनिक हुने छ ।
वडाबाट छनोट भई अधिवेशनमा ७ सयभन्दा बढी प्रतिनिधीहरु सहभागी भएका छन् ।
अध्यक्षका आकांक्षीहरू:
एमाले दैलेखको अध्यक्ष पदका लागि ६ जनाको नाम चर्चामा छ । हालसम्म बहालवाला अध्यक्ष सहित ६ जना चर्चामा रहेका हुन् ।
प्रतिनिधी सभा सदस्य एवंम् बहालवाला जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, दैलेख एमालेका संस्थापक नेता कर्ण खड्का, प्रदेश सभा सदस्य शुसील थापा, चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाही, पूर्व जिल्ला विकास समिति उपसभापति सुर्य बहादुर शाही, पाटन औद्योगिक क्षेत्रको अध्यक्ष समेत रहेका नन्द किशोर बस्नेत चर्चामा छन् ।
नेकपा एमालेको विधान महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने व्यवस्था भएकोले व्यक्तिगत रुपमा निर्वाचनमा प्रतिस्पर्धा हुने बताइएको छ ।

खबर बजार । २३ पुष २०७८, शुक्रबार १९:१७