सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसमा वृक्षारोपण गरिएको छ । नेकपा ९एमाले० वीरेन्द्रनगर–५ वडा कमिटीको आयोजनामा कालीका मन्दिर वैद्यडाँडा पदमार्ग आसपासमा विरुवा रोपिएको हो ।
वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले कम्युनिष्ट पार्टी निर्माणमा श्रेष्ठको योगदानको चर्चा गर्नुभयो । वडा कमिटीले महान व्यक्तिको सम्झनामा वृक्षारोपणजस्ता रचनात्मक काम गरेको भन्दै नेता कँडेलले धन्यवाद दिनुभयो ।
पुष्पलाल स्मृतिमा वैद्यडाँडा पदमार्ग क्षेत्रमा ६ सय विरुवा रोपिएको छ । हर्रो, अमला, बेलपत्र, गुलमोहरलगायतका विरुवा रोपिएका हुन् । वडा कमिटी अध्यक्ष बासु आचार्यले कम्युनिष्ट आन्दोलनका संस्थापक नेताको सम्झनामा वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको जनाउनुभयो । उहाँले पुष्पलालको राजनीतिक व्यवहार र आदर्शलाई सबैले सधैँ सम्झना गरिरहनुपर्ने बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेता, प्रदेशसभा सदस्यहरु, नगर तथा वडाका जनप्रतिनिधि, व्यवसायी र नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा उपचारका क्रममा भारतमा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपा स्थापना भएको थियो । श्रेष्ठको स्मृति दिवसका अवसरमा हरेक वर्ष विविध कार्यक्रम गरिँदै आएको छ ।
खबर बजार । ७ श्रावण २०७९, शनिबार १७:१७