स्थानिय निर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग नेपालले स्थानिय तहको निर्वाचनको तयारी थालेको छ । अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको हो ।

स्थानीय तहका सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेसम्म नभएका कारण वैशाखभित्रै निर्वाचन गर्न आयोग गम्भीर रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभएको छ ।

छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्न सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उहाँको भनाई छ । काभ्रेपलाञ्चोकमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उहाँले यस्तो बताउनुभएको हो ।