उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रुपन्देही– २ का राजु गुरुङ

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी खारेजी भएपछि निर्वाचन अधिकृतको कार्यालयविरुद्ध रिट लिएर नेकपा (एकीकृत समाजवादी) का नेता राजु गुरुङ सर्वोच्च अदालत पुग्नु भएको छ । सत्तारुढ गठबन्धनबाट रुपन्देही– २ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङ बैंकको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो ।

गुरुङले बिहीबार सर्वोच्चमा रिट पेस गर्नु भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रुपन्देही– २ मा उम्मेदवारी खारेजीको विषयमा रिट पेस भएको र दर्ताको प्रक्रियामा रहेको बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार गुरूङ कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो ।

रुपन्देही– २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि उम्मेदवार छन् । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि मनोनयन खारेज गरिएको थियो ।

उम्मेदवारी खारेज भएपछि गुरुङ निर्वाचन अधिकृतको कार्यालयको निर्णय खारेज गरी आफ्नो मनोनयन कायम गरिपाऊँ भन्दै सर्वोच्च पुग्नु भएको हो ।