काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।
निर्वाचनबारे छलफल गर्नका लागि भन्दै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचन नगर्ने नियतका साथ सर्वदलीय बोलाएका कारण आफूहरु सहभागी नहुने रिजालको भनाइ छ ।
यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यद्यपि, एमालेले प्रधानमन्त्रीको सचिवालयबाट कुनै अौपचारिक जानकारी नआएको जनाएको छ ।
सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गर्नुभएको थियो ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभएको छ ।
खबर बजार । ८ माघ २०७८, शनिबार ०४:१९