दैलेख । दैलेख गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने भएको छ । पालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा चुनौती, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँ प्रहरी भर्ना गरिने भएको हो ।
गुराँस गाउँ प्रहरी सञ्चालन सम्बन्धी कार्यविधि २०७९ तयार गरि माघ ११ गते बुधबार सम्मपन्न हिउँदे गाउँसभाबाट समेत पारित गरेको हो । यस सम्बन्धी कार्यविधि गाउँसभाबाट पास भइसकेको भन्दै अब कार्यान्वयनमा जाने गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ८ का वाडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता दीपेन्द्र ओलीका अनुसार गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्न गुराँस गाउँ प्रहरी परिचालन हुने छन् । ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहने छ । सानो सानो सुरक्षा चुनौती सामना गर्नको लागि नेपाल प्रहरीलाई परिचालन गर्न पालिकाले नसक्ने भन्दै अब गाउँ प्रहरी भर्नापछि पालिकाको शान्ति सुरक्षा कायम हुने छ ।
यसैबिच, गाउँसभाबाट २४ वटा विभिन्न ऐन र कार्यविधिहरु पास गरिएको छ । गाउँसभाबाट वन व्यवस्थापन गर्न बनेको ऐन २०७९, न्यायिक समितिको (कार्यविधि) सम्बन्धी ऐन २०७९, गुराँस कर्मचारी सेवा ऐन २०७९ पास भएको प्रवक्ता ओलीले बताउनुभयो ।ओलीका अनुसार मदिरा नियन्त्रण सम्बन्धी कार्यविधि २०७९, राउटे समुदायलाई सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, यौनिक अल्पसंख्यकलाई सुविधा उपलब्ध बनाउने सम्बन्धी कार्यविधि र कृषि उपज संकलन केन्द्र संचालन सम्बन्धी कार्यविधि लगायतका २० वटा कार्यविधि पास गरिएको छ । यसअघिको सरकारले बनाएका ३४ वटा विभिन्न ऐन र कार्यविधिसहित गाउँपालिकामा ७९ वटा विभिन्न ऐन र कार्यविधि बनेको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।
यसैगरी, गाउँसभाले वडा कार्यालय, स्वास्थ्य चौकी, र विद्यालयहरुमा अति आवश्यक कर्मचारी सेवा करारमा भर्नाको प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरेको छ ।
साथै साविक जिविस र गाविसबाट गाउँपालिकामा समायोजन भएर सेवा करारमा लामो समय काम गरेका कर्मचारीहरुलाई यसअघिको १० औ गाउँसभाको निर्णयको प्रतिकुल नहुनेगरी व्यवस्थापन गर्न जिल्ला समन्वयलाई पत्र पठाउन कार्यपालिकालाई अख्तियारी दिइएको उहाले जानकारी दिनुभयो ।
खबर बजार । १२ माघ २०७९, बिहीबार २१:०६