काठमाडौं । प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण आज बिहीबार दिउँसो हुँदैछ ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो दिनको १ बजेका लागि तय भएको जानकारी दिनु भयो ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदलाई सपथ गराउनु हुनेछ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ ।
राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । यो पटक २६ सांसदले नेपालीबाहेक अन्य मातृभाषामा सपथ लिने सचिवालयले जनाएको छ ।
सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउनसमेत अनुरोध गर्नु भएको छ । सपथग्रहणअघि मध्याह्न १२ बजेका लागि सर्वदलीय बैठक आह्वान भएको गौतमले जानकारी दिनुभयो ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा १०९ गरी २७४ प्रतिनिधिसभा सदस्यले शपथ लिने कार्यक्रम तय भएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिइसक्नु भयो । उहाँ राप्रपाबाट समानुपातिकतर्फका सांसद हुनुहुन्छ ।
शपथग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ।
खबर बजार । ७ पुष २०७९, बिहीबार ११:१५