

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनु भएको छ ।
उहाँलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् ।
प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिनु भयो ।
जम्कट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गर्नु भएको छ भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले उहाँलाई विश्वासको मत दिएका छन् ।
पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन । नेपाली कांग्रेस कार्यसम्पादन समितिको मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।
प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ ।
सरकारलाई विश्वासको मत दिए पनि गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताउनु भयो ।

खबर बजार । ३ माघ २०७९, मंगलवार १६:४७