सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा मृत्यु भएपछि स्थानीय नागरिकले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।
दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित राहत दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै बजार र सडक बन्द गराइएको हो । बन्दको कारण सुर्खेत–नेपालगञ्ज सडकखण्डमा सवारी साधन चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीकाअनुसार कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् ।
सुर्खेत, जाजरकोट र सल्यानबाट बाँकेतर्फ र बाँकेबाट सुर्खेत, जाजरकोट र सल्यानतर्फ हिंडेका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
मृतकका आफन्तहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डीएसपी घर्तीले बताउनुभयो ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते वडाध्यक्ष नवराज कार्कीको काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
नेकपा (माओवादी केन्द्र) बाट जननिर्वाचित कार्की सवार मोटरसाइकललाई रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।
नेपालगञ्जबाट वीरेन्द्रनगर तर्फ गुडिरहेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गुडिरहेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्की घाइते हुनुभएको थियो ।
खबर बजार । १४ फाल्गुन २०७८, शनिबार १२:१६