काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमै रहने भएका छन् ।
पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका सबै १६ जना अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको सरकारी वकिल कार्यालय प्रमुख अच्यूतमणि न्यौपानेले बताउनु भयो ।
यो प्रकरणमा रायमाझी, खाणसँगै नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन् ।
पक्राउ परेकाहरु सबैको बयान सकिसकेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले अनुसन्धान सकेर यसअघि नै बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो ।
तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले ३ दिन म्याद थप गर्न माग गरेको थियो । थप गरिएको ३ दिनमा पनि प्रतिवेदन तयार नभएपछि प्रहरीले थप ३ दिन हिरासतमा नै राख्न अनुमति मागेको हो ।
खबर बजार । ७ जेष्ठ २०८०, आईतवार १७:५५