कांग्रेसका सांसदहरूले भूकम्प पीडितलाई १५ दिनको पारिश्रमिक सहयोग गर्ने

काठमाण्डौ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भूकम्प पीडितको उद्धार, राहत र पुन:स्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलको आज आइतवार बसेको बैठकले भूकम्प पीडितका लागि सङ्घीय संसद्‍मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरूप सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले भूकम्पमा परि जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यसैगरी बैठकले भूकम्पबाट मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाप्रति दु:ख व्यक्त गरेको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।