राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताहरूको मतभार बढ्यो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ ।

२०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ ।

बुधबार बसेको आयोगको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले जानकारी दिए ।

यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ भित्र गर्ने आयोगले सरकारलाई सुझाव दिएको छ ।