युवाहरुको शिक्षा, स्वास्थ्य र आयआर्जनको लागि ‘पावर’

सुर्खेत । पावर परियोजनाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका किशोर किशोरीहरुको शिक्षा, स्वास्थ्य, तथा आयआर्जनका लागि विभिन्न गतिविधि गर्ने भएको छ ।

सेभ द् चिल्ड्रेनसँगको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरिरहेको पावर परियोजनाले सन् २०२२ मा सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी दिई सुझाव लिनका लागि आइतबार आयोजना गरेको बैठकमा यस्तो जानकारी दिइएको हो ।

विद्यालय छाडेका तथा छाड्न सक्ने ३५ जना विधार्थीलाई सहयोग गर्ने परियोजनाको लक्ष्य छ । ५३ जना युवाहरुलाई उद्यम विकास तालिम दिइने र त्यस मध्य ३३ जनालाई उद्यम सञ्चालनका लागि सहयोग गरिने परियोजनाका संयोजक तेज सोनामले जानकारी दिनुभयो ।

यस्तै २० जना युवाहरुलाई व्यवसायिक सिप विकास तालिम दिई व्यवसाय सञ्चालनका लागि सहयोग गर्ने परियोजनाको लक्ष्य छ । उहाँकाअनुसार विद्यालय र समुदायमा सफलताको लागि जिवन उपयोगी सिप कक्षा संचालन गर्नुका साथै शिक्षकहरुलाई उपचारात्मक कक्षा संचालन सम्वन्धि तालिम पनि दिइने छ ।

अपांगता भएका व्यक्तिहरुको विवरण अध्यावधिक गरी उनीहरु लक्षित कार्यक्रम सञ्चालन गर्नका लागि अपांगताका क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्ने पनि कार्यक्रम रहेको संयोजक सोनामले जानकारी दिनुभयो ।

यस्तै ढिलो विवाहको फाइदा, जीवन उपयोगी सीप, यौन प्रजनन् स्वाथ्य सम्बन्धि चेतनामुलक कार्यक्रम पनि आयोजना गरिनेछ ।

किशोर किशोरी तथा युवाहरुको यौन प्रजन्न स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्य संस्थालाई सामाग्री सहयोग गर्ने र स्थानीय सरकारको समन्वयमा विद्यालयको खानेपानी सरसफाई संरचना निर्माण र मर्मतमा सहयोग गरिने छ ।

वीरेन्द्रनगर ७ को श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राम, वडनम्बर ९ को शिव माध्यमिक विद्यालय लाटिकोइली, वडानम्बर १० को जनसेवा माध्यमिक विद्यालय घुस्रा र वडानम्बर १२ को अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा परियोजना लागू गरिएको छ ।

यीनै विद्यालयमा ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थी र उनीहरुका परिवारका सदस्यहरुलाई परियोजनाले प्राथमिकता दिने जनाइएको छ ।

परिचयात्मक बैठकमा वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र विषयगत शाखा प्रमुखहरुले परियोजनासंग उद्देश्य मिल्ने गतिविधिहरुमा साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

नगर उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाका गतिविधि र कार्यक्रमसंग मिल्दा जुल्दा गतिविधिमा परियोजनासंग साझेदारी गरेर अघि बढ्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरी देवकोटाले परियोजनाका र नगरपालिकाको कतिपय उद्देश्य मिल्ने भन्दै उपलब्धी हाँसिल गर्न नगरपालिकाबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यसैगरी, समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले परियोजनाले नगरपालिकाको कार्यक्रम र लक्ष्यमा सहयोगी बन्न नै यो परियोजना लागू भएको बताउनुभयो ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका पावर परियोजना संयोजक प्रतिभा कुँवरले नगरपालिकाले दिएका सुझावहरुलाई सकेसम्म कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।