नेपाली सेनापति र अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलबीच भेट : खास के विषयमा भयो कुरा ? 

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलबीच सैनिक मुख्यालय जङ्गीअड्डामा भेटवार्ता भएको छ ।

उनीहरूबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ ।

स्रोतका अनुसार भेटमा सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल भएको हो ।

भोवेलले परिवर्तित राजनीतिक परिस्थिति र भू-राजनीतिक अवस्थाका बारेमा चासो राखेको उच्च सैनिक स्रोतले जनाएको छ ।

उनीहरूबीच अमेरिकाले नेपाली सेनालाई दिँदै आएको सैन्य सहायता र तालिमको निरन्तरताका बारेमा छलफल भएको छ ।

जनरल भोवेल आइतबार बिहान ड्रुक  एयरको जहाजमार्फत् चार सदस्यीय टोलीको नेतृत्व गर्दै भुटानबाट काठमाडौं आउनुभएको थियो । भोवेलको टोली भोलि थाइल्याण्डतर्फ जाने जनाइएको छ।