कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढ्न १० सिट थप

जुम्ला । चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि १० वटा सिट थपेको छ ।


आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजको थप सिट निर्धारण गरेसँगै कर्णाली प्रतिष्ठानमा डाक्टरी पढाईका लागि १० वटा सिट थप गरिएको हो ।

गत वर्ष २०७८ मङ्सिर २६ गते राष्ट्रपति विधादेवी भण्डारीले एक विशेष समारोहकाबीच एमबिबिएस लगायत बी–फर्ममा, बीएनएस, बीएमएस, बीपीएचलगायतका शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भएको थियो ।

गत वर्ष एमबिबिएस अध्यापनका लागि २० सिटको अनुमति पाएको कर्णाली प्रतिष्ठानले यो वर्ष थप १० सिट सहित प्रतिष्ठानले ३० जना विद्यार्थीलाई जुम्लामै डाक्टर पढाउने प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले बताउनुभयो ।

फ्याकल्टी सङ्ख्या (प्राध्यापक), पूर्वाधार, अस्पतालको सेवा, बिरामीको चाप लगायत मापदण्डका आधारमा सिट निर्धारण गरिने व्यवस्था अनुसार जुम्लामा एमबिबिएसको १० सिट थपिएको उपकुलपति रावलको भनाई छ । कर्णाली प्रतिष्ठान स्थापनाले कर्णालीका बिरामीलाई महँगो खर्चमा जहाज चार्टड गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

तर चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि कर्णाली प्रतिष्ठानलाई ३० सिटको अनुमति दिँदा कर्णालीमै डाक्टरी पढाइको बाटो खुलेको हो ।हाल प्रतिष्ठानले सञ्चालन गरेको शैक्षिक कार्यक्रममा बी फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएसतर्फ ८ र बीपीएचतर्फ ६ जना विद्यार्थी भर्ना भई अध्ययन गरिरहेका छन् । भने, एमबिबिएसका लागि थप गरिएको १० कोटाका विद्यार्थीको भर्ना प्रक्रिया शुरु गरिने छ ।

चिकित्सा शिक्षा आयोगले स्नातक तहमा थप ३ सय ९ सिट निर्धारण गरेको छ । जसमा एमबिबिएसतर्फ गत वर्षभन्दा ६० सिट थप गरिएको छ । कर्णाली प्रतिष्ठानमा १० सिट एमबिबिएस थपिएको हो ।