बाटो खुल्यो, मोटर चले

सुर्खेत । आज बिहानदेखि अवरुद्ध रहेको रत्न लोकमार्ग (बाँके-सुर्खेत-सल्यान-जाजरकोट सडक) खुलेको छ ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा मृत्यु भएपछि स्थानीय नागरिकले गरेको बन्द अहिले खुलेको हो ।

दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित राहत दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राखिएकोमा बन्दकर्ता र सरोकारवालाबीच सहमति भएको हो ।

बन्द खुलेपछि छिन्चु बजार र सडकमा यातायातका साधन चल्न थलेका प्रहरीले जनाएको छ ।

वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते वडाध्यक्ष नवराज कार्कीको काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियोे । कार्कीको शव काठमाडौंबाट आज दिउँसो सुर्खेत तर्फ पठाइएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट जननिर्वाचित कार्की सवार मोटरसाइकललाई रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

नेपालगञ्जबाट वीरेन्द्रनगर तर्फ गुडिरहेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गुडिरहेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्की घाइते हुनुभएको थियो ।