आजदेखि लागू हुनेगरी फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिले विहिबार विहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँको दरले वृद्धि गरेको हो ।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १५१ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ ।

मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ ।

आईओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताउनुभयो ।