८ वडाको गुराँसले गर्‍यो ८ बुँदे प्रतिवद्धता

दैलेख । दैलेखको गुराँस गाउँपालिकाले ८ बुँदे प्रतिवद्धता व्यक्त गरेको छ । सार्वजनिक सेवाको गुणस्तरीयताको लागि सुशासन प्रवर्द्धनका लागि युवाको सहजिकरणमा शुक्रबार भएको पालिकास्तरीय सार्वजनिक सुनुवाईबाट ८ बुँदे प्रतिवद्धता गरिएको हो ।

८ वटा वडामा विभाजन भएको गुराँस गाउँपालिकाले  पालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, औषधि आपूर्तिमा पालिकाले छिटो पहल गर्ने, पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पहल गर्ने, पालिकास्तरमा भएका सडकलाई आवश्यकताको आधारमा स्तरोन्नति गरिने प्रतिवद्धता गरिएको छ ।

यसैगरी, वस्तिस्तरबाट छनौट भएका योजनाहरूलाई प्राथमिकता दिई कार्यान्वयन गरिने, पालिका तथा वडाबाट प्रदान गरिने सेवालाई छिटो, छरितो, प्रभावकारी तथा आधुनिक प्रविधियुक्त बनाउने, आर्थिक वर्ष २०८०/८१ मा आफ्नै भवनबाट सेवा प्रवाह गर्ने, नागरिकका सल्लाह, सुझाव र गुनासो संकलन गरि सेवालाई प्रभावकारी बनाउनको लागि वडास्तरमा अर्धवार्षिक तथा पालिकास्तरमा नियमित चौमासिक सार्वजनिक सुनुवाई गर्ने प्रतिवद्धता समेत गरिएको छ ।

सार्वजनिक सुनुवाई पूर्व गरिएको सेवाग्राही भेट र वहिर्गमन अभिमत समेतको आधारमा ५० जनामा सर्वेक्षण गरी तयार गरिएको रिपोर्टअनुसार समग्रमा सेवाप्रवाहमा १४ प्रतिसत नागरिक सन्तुष्ट रहेका, २ प्रतिसत असन्तुष्ट र ८४ प्रतिसत नागरिकहरूले मध्यम विचार व्यक्त गरेका छन् ।

सार्वजनिक सुनुवाईमा नागरिकहरूले गरेका प्रश्नको गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, उपाध्यक्ष शिवाकुमारी खड्का, गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, गाउँ कार्यपालिका मातहतका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूलगायतले जवाफ दिनुभएको थियो ।

पालिकास्तरीय सार्वजनिक सुनुवाईपूर्व गुराँस गाउँपालिकाका सबै वडामा वडास्तरीय सार्वजनिक सुनुवाईसमेत भएका थिए ।