११५ केजी वुद्धचित्त सहित दुई चिनियाँ नागरिक ठमेलबाट पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट ११५.६५ केजी वुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ४६ वर्षीय लिउ जिङताव र २३ वर्षीय लिउ छिआ‍‍ओसुवा रहेका छन् । उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूलाई बुधबार दिउँसो १ बजेमा ठमेलबाट पक्राउ गरिएको हो ।

बुद्धचित्तको अवैध कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूबाट नेपाली रुपैयाँ १२ लाख ७० हजार, १५५.६५ केजी बुद्धचित्त, ३ वटा मोबाइल फोन, र २ थान पासपोर्ट बरामद गरेको जनाएको छ । प्रहरीले उक्त रकम र सामग्रीहरू नियमविपरीत देखिएको भन्दै अनुसन्धान अघि बढाएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।