नयाँ सरकारले बागडोर सम्हाल्दै

प्रधानमन्त्रीसँगै केही मन्त्रीसमेत नियुक्त हुने 

काठमाडौं । प्रतिनिधि सभामा नयाँ जनादेश आएसँगै आजदेखि नयाँ प्रधानमन्त्री नियुक्त गरिँदैछ ।

फागुन २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनपछि बहुमत प्राप्त दलको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुहुने छ ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा सो पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीमा नियुक्त गरिने छ । रास्वपाले साहलाई संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित गरिसकेको छ ।

नियुक्ति लगत्तै मध्यान्ह १२ बजेर ३४ मिनेटमा शपथग्रहणको साइत जुराइएको छ । शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने जनाइएको छ ।

रास्वपा स्रोतका अनुसार कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिने छ । जानकारी अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

शपथ ग्रहण समारोह विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिने जनाइएकाे छ ।

यद्यपी, नेपालको संविधानले नेपाल धर्म निरपेक्ष राष्ट्रको रुपमा व्याख्या गरेकोमा साहको शपथग्रहण हिन्दु परमपरावादी मात्रै देखिन थालेको भन्दै आलोचना हुन थालेको छ ।

प्रधानमन्त्रीको शपथग्रहणसँगै केही मन्त्रीको समेत शपथग्रहण हुने जनाइएको छ ।