
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र आर्मीबीच भिडन्त हुने भएको छ । प्रधानमन्त्री कपमा पहिलो पटक बिनाविभागीय टोलीले फाइनल खेल्ने भएको हो ।

यसअघि आशिफ शेखको कीर्तिमानी दोहोरो शतक प्रेरित एपीएफले मधेश प्रदेशलाई ७४ रनले हराएसँगै मधेशको फाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ भने सुदुरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ । जीतसँगै एपीएफले जय ट्रफीमा स्थान सुरक्षित गरेको छ ।
एपीएफले दिएको ३ सय ९१ रनको कीर्तिमानी लक्ष्य पछाएको मधेशले ५० ओभरमा ८ विकेट गुमाएर ३१६ रनको सम्मानजनक योगफल बनाए पनि ७४ रनले पराजित हुन पुग्यो।
पहिलो संस्करणको पिएम कपमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त फाइनल नतिजाविहिन भएको थियो ।
यस्तै दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।
चौंथो संस्करणमा आर्मीले एपीएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो भने पाँचौं संस्करणमा एपीएफले आर्मीलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको थियो ।
छैटौं संस्करणमा पुलिसले आर्मीलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्दा सातौं संस्करणको उपाधि पनि पुलिसले नै आर्मीलाई ६ विकेटले नै हराउँदै जितेको थियो ।




खबर बजार । ३० चैत्र २०८२, सोमबार १८:४५