
सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–८ नम्बर वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्दै आएका राउटेलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका ४० परिवारका १ सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका– ८ का वडासचिव सुस्मिता खड्काले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय धेरैजसो दैलेखमा बस्ने गरेकोले सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका–८ नम्बर वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।
गाउँपालिकाले राउटे समुदाय जहाँ पुग्छन् त्यही पुगेर सुरक्षा भत्ता वितरण गर्न थालेको छ । राउटे समुदायलाई स्वास्थ्य, सरसफाइ र सामाजिक अन्तरघुलनका अभ्यास गराउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे उत्थान परियोजना समेत सञ्चालन गरेको छ ।




खबर बजार । १५ जेष्ठ २०७९, आईतवार १४:११