काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् ।
च्याउ टिप्न गएका १०, १२ र १३ वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनु भयो । उहाँका अनुसार, उनीहरु दिउँसो वनमा च्याउ टिप्न गएका थिए ।
गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो । दुनैमा थप उपचार सम्भव नहुने भएपनि हेलिकोप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज लैजाने प्रयास भइरहेको छ । तर, मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भयो ।
डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जार जना सैनिक समेत गम्भीर घाइते भएका थिए । तीमध्ये दुई जनाको उपचारका क्रममा निधन भएको छ । थप दुई जनाको उपचार जारी छ ।
खबर बजार । २९ चैत्र २०८०, बिहीबार १७:१८