अरु प्रदेशले सिक्ने गरि पर्यटनको क्षेत्रमा काम गर्छु: मन्त्री कार्चेन

सुर्खेत । गत आर्थिक बर्षमा कर्णालीमा एक लाखभन्दा धेरै पर्यटकले कर्णाली प्रदेशका विभिन्न ठाउँको भ्रमण गरेका छन ।
बार्षिक पाँच लाख पर्यटकलाई घुमाउने लक्ष्य प्रदेश सरकारले लिएपछि विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण लक्ष्य पुरा गर्न नसकेको हो ।
कोरोना महामारीकै बिचमा प्रदेशका विभिन्न ठाउँमा एक लाख ६० हजार पर्यटकले भ्रमण गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
संस्कृती पर्यटन तथा नागरिक मन्त्रालयले बिहीबार सुर्खेतमा आयोजना गरेको प्रदेश तहमा पर्यटन विकास तथा प्रवद्र्धन एवम संघसँगको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहन जिसीले रारा भ्रमण बर्ष पनि कोरोनाकै कारण हुन नसकेको बताउनुभयो ।
उहाले सरकारले अहिले पनि जनसँग पर्यटक र नामसँग पर्यटक नारा लिएर काम गरिरहेको जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रलाई लयमा ल्याउन सुझाव
अन्तरक्रिया कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित तिनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमाथी छलफल गर्दै कर्णालीका सरोकारवालाहरुले प्रदेशमा पर्यटकका लागि आकर्षक गन्त्व्य भएपनि त्यसको प्रवद्र्धनमा ध्यान नपुगेको बताएका छन ।
उनिहरुले कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई लयमा ल्याउन विशेष योजना ल्याउन सुझाव दिएका छन ।
क्षेत्रिय पर्यटन केन्द्रका सुचना अधिकारी लोमन कुमार बुढाले कर्णालीका पर्यटन क्षेत्रहरु अहिले धरासायी अवस्थामा रहेको भन्दै त्यतातर्फ ध्यान दिन पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयो, ‘यहाँका पर्यटकीय क्षेत्रहरु धरासायी छन, प्रदेशको राजधानी सुर्खेतमै रहेको बुलबुले तालको दशा देख्नुभएको छ होला सुर्खेत आएका जो कोही पनि एकपटक त्यहाँ जान्छ, तर अर्को पटक आउँदैन’ उहाले थप्नुभयो, ‘देउती बज्यै मन्दीरलाई आस्थाको केन्द्र मात्र बनाइएको छ, घण्टाघरको अवस्था पनि त्यस्तै छ, यतातर्फ ध्यान दिन आवश्यक छ,’
बुढाले पर्यटन क्षेत्रमा प्रवद्र्धन गरिएमात्र पर्यटक आकर्षित हुन सक्ने भन्दै त्यसको लागि गुरु योजना बनाएर जानुपर्ने सुझाव दिनुभयो । उहाले बुलबुले ताललाई काक्रेबिहारसम्म विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।
भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर कार्कीले पनि प्रदेश सरकारले पर्यटन क्षेत्रमा केही काम मात्र गरेको भन्दै पर्याप्त काम गर्न नसकेको बताउनुभयो । उहाले प्रदेश सरकारले जोडतोडका साथ काम गर्नुपर्ने भन्दै भन्नुभयो, ‘सरकारले पर्यटन क्षेत्रमा काम गरेकै छ, तर त्यो प्रयाप्त होइन, काम गर्ने प्राविधिकहरुको ढिलासुस्ती पनि यसमा जोडिएको छ ।’
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पनि पर्यटक आकर्षण गर्न प्रदेशको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने भन्दै पर्यटन क्षेत्रबाट आर्थिक अवस्था सुधार गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक मन्त्रालयका सचिव हेम प्रसाद लुइटेलले संघ प्रदेश र स्थानीय तहको साझा र एकल अधिकारका विषयमा केही अन्यौलता रहेको भन्दै यसको समाधान हुने बताउनुभयो ।
पर्यटन प्रवद्र्धनको लागि ठोस योजना तयार गर्दैछुः मन्त्री लामा
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल कार्चेन लामाले पर्यटन प्रवद्र्धनको लागि ठोस नीति बनाएर योजना बनाउने बताउनुभएको छ ।
उहाले सबै प्रदेशलाई उदाहरण दिनेगरी कर्णाली प्रदेशले पर्यटन क्षेत्रमा काम गर्ने बताउदै भन्नुभयो, ‘हुन त सबै क्षेत्रमा राजनितिकरण गर्ने परिपाटी छ, यसले गर्दा पर्यटन क्षेत्र अगाडी बढ्न सकेको छैन, तथापी हामी ठोस नीति बनाएर अरु प्रदेशले सिक्नेगरी पर्यटन क्षेत्रमा काम गर्नेगरी योजना बनाउँदैछौ ।’
लामाले पर्यटन क्षेत्रबाटै समृद्धि हासिल गर्नेगरी लाग्नुपर्ने भन्दै कर्णालीका पुराना संस्कृतीहरुलाई जगेर्ना गर्दै त्यसमा पनि पर्यटन आकर्षण बढाइने बताउनुभयो । उहाले कर्णाली नदीमा जलयात्रा बनाउने आफ्नो योजना रहेको सुनाउनुभयो ।
यस्तै, संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले प्रस्तुत गरेको कार्यपत्रमा सन कोरोनाका कारण नेपालमा पर्यटक आउने क्रम निरन्तर ओरालो लागेको छ ।
बार्षिक १२ लाख पर्यटक आउने नेपालमा त्यो संख्या घटेर करिब २ लाखमा झरेको छ । पर्यटन क्षेत्रको कुल ग्राह्यस्त आम्दानी ३ प्रतिशत छ । सरकारले यसलाई बढाएर १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।