नेपाल बन्यो १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको च्याम्पियन

काठमाण्डौ । बङ्गलादेशसंग बराबरी खेल्दै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिको जितेको छ । आज शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपाल एक–शून्यले अग्रता रह्यो । तर खेलको ५४ औँ मिनेटमा रुमा अख्तेरले गोल गर्दै बङ्गलादेशलाई एक–एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

यो बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जोड्यो । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेको हो । बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बन्यो ।