कर्णालीका विभिन्न स्थानमा निर्माणाधिन औधोगिक ग्रामको निर्माण कार्य सुस्त

सुर्खेत । कर्णालीमा औधोगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औधोगिकग्राम निर्माण कार्यक्रम अन्तर्गत छनौट भएका स्थानीय तहहरुमा निर्माणले गति लिन नसकेको हो ।
सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औधोगिकग्राम निर्माणको घोषणा गरिएको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिकामा२०७७ सालमा तथा कालिकोटको शुभकालिका गाउँपालिकामा औधोगिक ग्राम निर्माणका लागि २०७८ सालमा घोषणा गरिएको थियो ।
भेरीगंगाको रामघाटस्थित २० विगाह क्षेत्रमा औधोगिक ग्राम निर्माणका लागि तोकिएको छ । उक्त क्षेत्रमा हालसम्म घेरबारको काम मात्रै भएको छ । गत आर्थिक बर्षमा संघीय सरकारबाट आएको रकमले घेरबार गरिएको र यस बर्ष संघीय सरकारसंग बजेट माग गरे पनि आइनसकेको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो ।
यस्तै पञ्चपुरी नगरपालिकाको वडा नं. ६ र ८ को बीचमा पर्ने दुलालथाईमा औधोगिकग्राम निर्माणका लागि ५ सय रोपनी जग्गा छुट्याइएको छ । उक्त क्षेत्रमा हालसम्म कार्यालयका लागि चारकोठे भवन, चमेना गृह, शौचालय निर्माण भएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले जानकारी दिनुभयो । सडक, घेरबार लगायतका काम बाँकी रहेको नगरप्रमुख भण्डारीको भनाइ छ ।
चौकुने गाउँपाकिाले काले वडा नं. ५ स्थित मायाताल औधोगिक ग्राम निर्माण थालिएको छ । दश विगाह जग्गा छुट्याएर औधोगिक ग्राम निर्माण थालिएपनि हालसम्म घेरबार, शौचालय र एक वटा कार्यालय भवन मात्रै निर्माण भएको छ । अघिल्लो बर्ष आएको बजेटले भवन र शौचालय निर्माणको काम भएपनि रकम अभावमा अन्य काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष खड्क बि.क.ले जानकारी दिनुभयो । प्रर्याप्त बजेट नहँुदा औधोगिक ग्राम निर्माणमा समस्या भएको अध्यक्ष विकको भनाइ छ । उद्योग सञ्चालनका लागि पानी, विधुत जस्ता पूर्वाधारको तत्काल आवश्यता रहेको उहाँले बताउनुभयो ।
जाजरकोटको शिवालय गाउँपालिकाले वडा नं. ४ मा औधोगिक ग्रामका ४८ रोपनी जग्गा छुट्याएको छ । औधोगिकग्राम निर्माण कार्य भने सुस्त छ । चालु आर्थिक बर्षका लागि बजेट आएको छैन् । कालिकोटको शुभकालिका गाउँपालिकाले पनि वडा नं. ४ राराकाटियाँ भन्ने ठाउँमा जग्गा छनौट गरेको छ । गत आर्थिक बर्षमा पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भएपनि काम भने सुरु हुन सकेको छैन् । निर्माण सुरु गर्नका लागि ठेकेदार कम्पनीसंग छलफल गरेको र चाँडै सुरु हुने शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशले पनि साझेदारीका लागि बजेट छुट्याएपनि बर्षेनी फ्रिज हुने गरेको छ । चालु आर्थिक बर्षमा पनि औधोगिक ग्रामका लागि ३० लाख रुपैँया विनियोजन गरिएको छ । मन्त्री परिषद्को निर्णयका आधारमा उक्त रकम खर्च हुने मन्त्रालयले जनाएको छ ।